पर्यटन दिवसमा नाट्टाको सहयोग

पर्यटन दिवसमा नाट्टाको सहयोग

पोखरा : ४१ औं विश्व पर्यटन दिवस अवसरमा नेपाल एशोसिएसन अफ ट्रभल एण्ड टुर एजेन्टस् नाट्टा गण्डकी प्रदेशले पोखरामा विभिन्न कार्यक्रम आयोजना गरी पर्यटन दिवस मनाएको छ । कोरोना भाइरस महामारीको कारण पर्यटन क्षेत्र ठप्प भएको बेला पर्यटन बसपार्क र पर्यटन बोर्ड गण्डकी प्रदेश अगाडि धात धुनका लागि पानीसहितको ट्याङ्की राखिएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

नाट्टा गण्डकीका पूर्व अध्यक्ष तथा काउन्सिलका संयोजक ओम पाण्डेले साबुनपानीले हात धोएर सो अभियान उद्घाटन गरेका थिए । कार्यक्रममा उनले पोखराबाट भित्रिने र बाहिरिने पर्यटकको लागि सो निकै उपयोगी हुने बताए । पोखरा भित्रिने र बाहिरिनेहरुका लागि सुरक्षा सतर्कताका लागि सो व्यवस्था गरिएको उनले बताए । नाट्टाले आज नै सिटी टुर गाइड एशोसिएसन पोखरालाई १५ हजार नगद दिएको छ भने जिल्ला ट्राफिक कार्यालय कास्कीको भवन निर्माणका लागि ५० हजार रुपैयाँ भवन निर्माण समितिका अध्यक्ष दिलीप श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि दैनिक ४ वटा पर्यटन बसहरु काठमाडौं, सुनौली जाने गरेको संस्थाका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले बताए । यस अगाडि पोखराबाट दैनिक ३५ वटा पर्यटक बसहरु काठमाडौं, बेशिसहर, सुनौली, सौराहा जाने गरेका थिए । कोरोनाका कारण काठमाडौं बाहेक अन्य क्षेत्रमा पर्यटक बस जान नसकेको कोषाध्यक्ष राजेश पहारीले जानकारी दिए । पर्यटक बसअन्तर्गत ट्राभल क्षेत्रमा हाल ३ अर्बको लगानी छ ।

सम्बन्धित खवर