कोभिड नियन्त्रणमा प्रदेश सरकार सफल : मुख्यमन्त्री

कोभिड नियन्त्रणमा प्रदेश सरकार सफल : मुख्यमन्त्री

पोखरा : लामो समयदेखि अवरुद्ध गण्डकी प्रदेशसभाको बैठक सोमबार बस्यो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगतको बजेट बाँडफाँडलाई लिएर चुलिएको सत्तापक्ष र प्रमुख प्रतिपक्षबिचको विवादले अवरुद्ध बैठक सत्तापक्ष केही लचिलो बनेपछि पुनः सुचारु भएको हो ।

बैठकको सुरुमै आफ्नो भनाई राखेका प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले निर्वाचन क्षेत्रको समानुपातिक र प्रत्यक्षको लागि छट्याइएको दुई करोड रुपैयाँबारे प्रश्न उठाएका थिए । ‘त्यो विषयमा समानुपातिकलाई कति गर्ने ? प्रत्यक्षलाई कति गर्ने ?’, उनको प्रश्न थियो । समान पदीय हैसियत भएका सांसदलाई विभेद गर्न नहुने उनको माग थियो ।

विपक्षीले उठाएका मागहरु सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले बजेटको ठूलो हिस्सा प्रत्यक्ष निर्वाचित सांसदले नै पाउन दोहो¥याए । मुख्यमन्त्री गुरुङले कोरोना रोकथाममा प्रदेश सरकार सफल भएको जिकिर पनि गरे । असहज समयमा १७ वटा भेन्टीलेटर र २७ वटा आइसीयु बेड खरिद गरेको र लक्ष्य बमोजिम सबै जिल्लाहरुमा आइसीयू बेड र भेन्टिलेटर खरिद गर्ने गरि बजेट व्यवस्था गरिएको दावी गरे ।
कोरोना संक्रमित विरामीहरुको उपचारका लागि अति आवश्यक अक्सिजनको नियमित आपूर्ति सुनिश्चित गर्न सबै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने लक्ष्यका साथ खरिद प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।

बागलुङको धवलागिरी अस्पतालमा अक्सिजन उत्पादन सुरु भइसकेको र मातृशिशु मितेरी अस्पतालमा जडान कार्य पूरा भइसकेको साथै केही दिनमा उत्पादन सुरु हुने उनको भनाई थियो । प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट खरीद भएको र सो जडानका लागि आवश्यक अन्य सामाग्रीहरुको खरिद प्रक्रिया समेत अघिबढेको उनले बताएका थिए ।

‘माननीय सदस्यहरुले प्रस्तुत गर्नुभए जस्तै आइसीयू सञ्चालन गर्ने कार्य त्यति सहज छैन । यसका लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । यसै वास्तविकतालाई हृदयंगम गरि हालैमात्र वीर अस्पतालका दक्ष एवं विज्ञ चिकित्सकहरुबाट पोखरामा एक व्याचलाई आइसीयू सञ्चालनसम्बन्धी तालिम गराइएको छ’, उनले भने, ‘सबै अस्पतालको आइसीयू सञ्चालन टिमलाई तालिम उपलब्ध गराउने गरि बजेट व्यवस्था गर्नुका साथै सो का लागि व्यवस्थापनको कार्य अघि बढाइसकिएको व्यहोरा समेत जानकारी गराउँदछु । साथै आइसीयू सञ्चालन गर्न सक्ने उच्चस्तरको दक्ष जनशक्ति करारमा लिई सेवा सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था मिलाई करार प्रक्रिया अघि बढाइएको छ । यसबाट गम्भीर प्रकृतिका बिरामीको उपचारकालागि यस प्रदेश अन्तरगतका अस्पतालहरुको क्षमता विकास हुनेछ ।’

यस्तै, प्रदेश भरका अस्पताल, स्वास्थ्य कार्यालय र आयूर्वेद केन्द्रहरुमा रिक्त रहेको दरवन्दीमा तत्काल स्थाई पदपूर्ति हुन नसक्ने अवस्थामा त्यस्ता रिक्त दरवन्दीमा अस्थाई रुपमा करारद्वारा पदपूर्ति गरिने उनले बताएका थिए । प्रदेश सरकाले कार्यविधि स्वीकृत गरीसकेको र हाल करारमा लिनै पर्ने अत्यावश्यक पद संख्या निर्धारण गरी तत्कालका लागि १०४ जनशक्ति करारमा लिने गरि प्रक्रिया समेत अघि बढेको उनले बताएका छन् ।

प्रदेश अन्तर्गतका अस्पतालहरुको स्तरोन्नति गरेर मनाङ र मुस्ताङ अस्पताललाई २५÷२५ शैया र पर्वत, स्याङजा, मातृशिशु मितेरी, दमौली र मध्यविन्दु अस्पतालहरुलाई ५०÷५० शैयाका साथै धवलागिरी अस्पताललाई ३०० शैया बिस्तार गरिने उनले बताए । मुस्ताङ अस्पतालको डिपीआर एवं इआईए सम्पन्न भई लागत अनुमान समेत स्वीकृत भइसकेको उनले जानकारी दिए । दमौली अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिाया अगाडि वढाइएको साथै अस्पतालहरुको स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिसकिएको उनले बताए । स्याङजा, मातृशिशु मितेरी, दमौली र मध्यविन्दु अस्पतालहरुको डिपिआरका लागि बजेट विनियोजन भए बमोजिम कार्य शर्त निर्देशन तयार पारि सकिएको उनले सुनाए ।
कोभिड – १९ महामारीको सुरुआत कै दिनमा संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको बताए । अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गरेर लैजाने समेत उनले सुनाए । अस्पतालको पूर्वाधार विकास एवं सुधार गरेर आवश्यक तीन जना चिकित्सकलाई काजमा खटाई कोरोना संक्रमित बिरामीहरुको उपचार सुरु भई सकेको उनले बताए । अस्पतालले अरु सामान्य चिकित्सा सेवा पनि सूचारु गरेको उनले जनाए ।

मुख्यमन्त्री गुरुङले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको आरटी पीसीआर परीक्षण क्षमतामा उल्लेख्य विस्तार गरेर हिजोसम्म कुल परीक्षण ६२,९२६ पु¥याइएको बताए । उनले संक्रमणको दरमा वृद्धि भइरहे पनि प्रदेश सरकारको निरन्तर प्रयासको फलस्वरुप कोभिड – १९ को संक्रमण नियन्त्रणमा सफल भएको जिकिर गरे । संक्रमितहरुलाई संस्थागत आइसोलेसनमा राखी उपचार गण्डकी प्रदेश सरकार अग्रस्थानमा रहेको समेत उनले दाबी गरे । नेपालमा संस्थागत आइसोलेसनमा राखी उपचार गर्ने सरदर दर ५३.४ प्रतिशत रहेकोमा सो दर यसै प्रदेशमा ८१.७ रहेको उनको दाबी थियो । यसबाट समुदायस्तरमा संक्रमण बढ्ने जोखीम न्यून रहेको उनको जिकिर छ ।

मुख्यमन्त्रीको सम्बोधनपछि दुई विधेयक टेबल भएको छ । खेलकुद विधेयक र प्रहरी ऐन दफाबार छलफलको लागि विधायन समितिमा पठाइएको छ । यस्तै विधायन समितीले प्रदेश प्राधिकरण विधेयकको प्रतिवेदन सभामा प्रस्तुत गरेको थियो ।सभाको अर्को बैठक असोज ६ गते दिनको ११ बजे बस्ने छ ।

सम्बन्धित खवर