आज ईन्द्रजात्रा र अनन्त चतुर्दशी

आज ईन्द्रजात्रा र अनन्त चतुर्दशी

काठमाडौं : वर्षा र सहकालका देवता देवराज ईन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा ईन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक ईन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘ईन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा ईन्द्रजात्रा मनाउने गरिएको हो । ईन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि ईन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जंगलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक ईन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

आजको दिन मुख्यरूपमा मनाइने ईन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ यात्रा नजर गर्ने परम्परा छ । भूकम्पले भत्किएको गद्दी बैठक पुनःनिर्माण भएकाले त्यहीँ ईन्द्रजात्राका कार्यक्रम भएपनि यो पटक कोरोना महामारीका कारण त्यो सम्भव नहुने देखिएको छ । भूकम्प गएको तीन वर्षपछि गतवर्ष गद्दी बैठकमै ईन्द्रजात्राको तयारी गरिएको थियो ।

ईन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज ईन्द्रको बाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । ईन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘ईन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ ।

आजै दहचोकस्थित ईन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्ने गर्थ्याे । भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् बताउँछन् । चतुर्दशीमा ईन्द्रजात्रा मनाएपछि पूर्णिमामा ईन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि पनि छ । तर यो वर्ष भने कोरोना संकटका कारण ईन्द्रजात्रा पहिलेझैं मनाउन नमिल्ने भएको छ ।

सम्बन्धित खवर