गण्डकी सरकारले सुरु गर्‍यो पर्वत अस्पतालमा निशुल्क डायलसिस

गण्डकी सरकारले सुरु गर्‍यो पर्वत अस्पतालमा निशुल्क डायलसिस

पर्वत : गण्डकी प्रदेश सरकारले पर्वत जिल्ला अस्पतालमा मिर्गाैला रोगीको उपचारका लागि निशुल्क डायलसिस सेवा सुरु गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार उक्त सेवाको उद्घाटन गरेका छन् ।

जिल्ला अस्पतालमा डायलसिस सेवा सुरु गर्न ४ वटा मेसिन जडान गरिएको छ । दैनिक १२ जनासम्म बिरामीको यहाँ उपचार सम्भव हुने भएको छ ।

‘अब मिर्गाैला डायलसिस गर्न पर्वतका बिरामी अरु जिल्ला धाउनुपर्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘गण्डकी प्रदेश सरकार यसरी नै जिल्ला अस्पतालहरुमा उपकरण र सेवा सुविधा विस्तार गर्दै जाने योजनामा छ । प्रदेश मातहतका अस्पतालमा अब औषधि छैन, डाक्टर छैन, उपकरण बिग्रेको छ, भोलि आउनोस् भन्ने अवस्था हुनुहुँदैन भन्नेमा गण्डकी सरकार सचेत छ ।’

आवश्यकताका आधारमा मिर्गौला डायलसिस मेसिन थप्दै जान सरकार तयार रहेको जानकारी पनि मुख्यमन्त्री गुरुङले दिए ।

मुख्यमन्त्री गुरुङले धेरै खर्च गरेर पढेका चिकित्सकलाई आकर्षक पारिश्रमिक उपलब्ध गराउने कानुन बनाउनुपर्ने खाँचो औंल्याएका छन् । उनले भने, ‘सेवा सुविधा राम्रो भयो भने पो डक्टर जिल्ला अस्पतालमा पनि आउँछन्, यहाँ बस्छन्, अहिलेसम्म त्यस्तो नियम छैन, अब नियम बनाएर भए पनि डक्टरहरुलाई धेरै पारिश्रमिक उपलब्ध गराउनुपर्छ ।’

डायलसिस सेन्टरमा २ जना मेडिकल अफिसर, ६ स्टाफ नर्स, र १ जना प्राविधिक छन् । पर्वतमा अस्पतालमा डायलसिस मेसिन जडान गर्न गण्डकी सरकारले १ करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

सम्बन्धित खवर