भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयको अनुरोध

भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयको अनुरोध

राजेन्द्र महतो, लहान

पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गईरहेको र लकडाउन पनि हटिसकेको अवस्थामा हुने लापरबाहीका कारण संक्रमण वृद्धि हुने भएकोले जिल्ला प्रशासन कार्यालय सिरहाले भिडभाड नगर्न अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सूचना जारी गरेर श्रावण महिना समेतमा उत्तरायणी लगायतका नदी किनार, मन्दिर तथा सार्वजनिक स्थलमा शिव आराधना, बोलबमका नाममा भिडभाड (जमघट), नाचगान नगर्न नगराउन अपिल गरेका हुन् ।

त्यस्तै मठ मन्दिर, मस्जिद, चर्च, गुम्वा समेतमा भिडभाड हुन नदिन र आउँदो श्रावणी अष्टमी, जनै पुर्णिमा लगायत हाटबजार समेत नलगाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय सिरहाले सर्वसाधारणलाई आफू पनि बचौँ, अरुलार्इ पनि बचाऔँ, भिडभाड नगरौँ, काम विशेषले बाहिर जानुपरेमा अनिवार्य रुपमा मास्क प्रयोग गरौँ, हात साबुन पानीले बेला बेलामा राम्ररी धुने गरौँ वा स्यानिटाइजर प्रयोग गरौँ, समाजिक दुरी कायम गरौँ र मास्क प्रयोग गर्न गराउन समेत आग्रह गरिएको छ । जिल्ला भित्र चल्ने सवारी साधनमा समेत सुरक्षा र स्वास्थ्य सम्बन्धी मापदण्ड र प्रोटोकल पालना गर्न अपिल गरिएको छ ।

प्रजिअ कणेलले सूचना अनुसार गर्न गराउन जिल्लाका सबै कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय र व्यापार संघ संस्थालाई समेत परिपत्र गरिसकेको बताएका छन् ।

सम्बन्धित खवर