पोखराका पर्यटक भन्छन् नेपालमै सुरक्षित छौँ

पोखराका पर्यटक भन्छन् नेपालमै सुरक्षित छौँ

पोखरा : कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वका धेरै मुलुकमा लकडाउन हुँदा नेपाल भ्रमणमा आएर नेपालमै रोकिएका केही पर्यटकहरुले आफ्नो भिसाको म्याद थप गर्न माग गरेका छन्।

पोखरामा सोमबार विभिन्न देशका पर्यटकहरुले पत्रकारसँग सामुहिक रुपमा नेपालमा हाल कोरोनाबाट आफुहरु सुरक्षित भएकोले आफुहरु थप केही समय नेपालमै बस्न चाहेकोले भिसाको म्याद थप गर्न माग गरेका हुन् । अमेरिका, अष्ट्रेलिया, इट्ली, उरुग्वे, सहितका युरोपेली मुलुकका विदेशी पर्यटकहरुले आफुहरु नेपालमै कोरोनाबाट सुरक्षित भएकोले साथै अहिलेको अवस्थामा आफुहरु आफ्नो देश जान नसक्ने हुँदा भिसाको म्याद थप गर्न माग गरेका हुन्।

पत्रकारसँग बोल्दै पर्यटक मध्येका एक उरुग्वेका मार्टीनले आफुहरुलाई आफ्नो अधिकार र कर्तव्यको बारेमा जानकारी भएको बताउदै विषम परिस्थितिमा आफुहरु हाल रहेको देश नेपालमै बस्न चाहेको बताए । उनले भने “अहिले हामी चर्को मुल्यमा चार्टर गरेर हतार हतारमा आफ्नो देश फर्किने पक्षमा छैनौं, हाम्रो देशमा कोरोनाको संक्रमण बढ्दो रुपमा रहेकोले हाल केही समय हामी नेपाल मै बस्न चहान्छौं त्यसको लागि भिषाको म्याद थप्न अनुरोध गर्दछौँ । ”

त्यस्तै अमेरिकाकी रोक्सी ग्लीयानोले कोरोनाको त्रास आफ्नो देशमा अझै बढी भएकोले हाल आफुहरु नेपालमै सुरक्षित भएको महसुस भएकोले नेपालमा आफुहरुको भिषाको म्याद थप गर्न नेपाल सरकारसँग आग्रह गरेकी छिन् । लसएन्जलसबाट नेपालमा पहिलो पटक घुमघाममा आएकी उनी लडकाउनले गर्दा हाल पोखरामा बस्दै आएकी हुन् । उनले भनिन् “म आफु जस्तै धेरै पर्यटकहरुको प्रतिनिधि पात्र हुँ, हामीले हाल नेपालमा धेरै सुरक्षित ठानेका छौं, अहिलेको परिस्थितीमा हामी आफ्नो देशमा फर्किन सक्ने अवस्था छैन। उनले हाल आफु नेपाली भाषा संस्कृति सिक्दै गरेको पनि बताइन् ।

रोक्सी, मार्टीन जस्ता विभिन्न देशका करिब एक सय ५० भन्दा बढी पर्यटक कोरोनाले गर्दा हाल पोखरामा नै बस्नु परेको उनीहरुले बताए । नेपाल भर भने सो संख्या करिब एक हजार भन्दा बढी हुन सक्ने उनीहरुको भनाइ थियो । हवाई उडान सुरु भएसंगै विदेशी पर्यटकहरुलाई पुनः स्वागत गर्नुपर्ने अवस्थामा हाल नेपालमा रहेका विदेशी पर्यटकहरुलाई उनीहरुको चहाना अनुसार भिषाको म्याद थप गर्न पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

पर्यटक भिषा १ सय ५० दिनको म्याद सकिएकाहरुलाई म्याद थप गरी उनीहरुलाई नेपालमै बस्ने वातावरण मिलाउदा थोरै भए पनि सकरात्मक सन्देश सहित जाने र आर्थिक कृयाकलाप पनि हुने उनले जनाए ।

सम्बन्धित खवर