बोलबममा पोखराको केदारेश्वर मन्दिर नखुल्ने

बोलबममा पोखराको केदारेश्वर मन्दिर नखुल्ने

कास्की : पोखराको केदारेश्वर महादेवमणि मन्दिर यस वर्ष नखुल्ने भएको छ । केदारेश्वरमा अघिल्ला वर्षमा श्रावण महिनाको प्रत्येक सोमबार बोलबम मेला हुँदै आएको थियो ।

यसवर्ष मन्दिर नखुल्ने भएपछि पोखरा तथा आसपासका वोलबम यात्रीहरुलाई नरमाइलो हुने भएको छ । कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै मन्दिर व्यवस्थापन समितिले यस वर्ष मन्दिर नखोल्ने निर्णय गरेको हो ।

मन्दिरको वैदिक गुरुकुल विद्याश्रममा अध्ययनरत वटुकहरुको सुरक्षालाई ध्यान दिंदै मन्दिर नखोल्ने निर्णय गरिएको पिठाधीश डा. लेखनाथ आचार्यले जानकारी दिए ।

अघिल्ला वर्षमा बोलबमको संयोजनकारी भूमिका खेल्दै आएका विश्वहिन्दू महासंघका उपाध्यक्ष शंकर खरालले बटुकहरुको सुरक्षामा ध्यान दिंदै यसवर्ष मन्दिर नखोलिने जानकारी दिए ।

बोलबममा मन्दिर खोल्ने विषयमा प्रशासन र वडा कार्यालयसंग पटक छलफल गरेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

उनले भक्तजनलाई सकभर मन्दिर नआउन आग्रह गरे । यदि आउनै परेमा अनिवार्यरुपमा माक्स लगाउन र सुरक्षाका सबै उपाय अपनाउनुपर्ने उनले स्पष्ट पारे ।उनका अनुसार मन्दिर नखोलिए पनि गेट बाहिरबाटै शिवलिंगमा जल चढाउने व्यवस्था भने गरिने भएको छ । जसका लागि गेट बाहिरबाटै डुँड लगाएर शिवलिंगमा जल पठाइने व्यवस्था मिलाइँदै छ । भक्तजनमा निराशा पैदा नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिन लागेको खरालले बताए ।

गेट बाहिर पनि भीडभाड गर्न नपाइने भन्दै खरालले प्रशासनको समन्वयमा सामाजिक दूरी कायम गरेर मात्रै जल चढाउन दिइने बताए ।

यसअघिका वर्षहरुमा पोखराको सिम्पानीस्थित गाईघाटबाट जल लिएर हिंडेर केदारेश्वर महादेवमणिमा पुगी शिवलिंगमा जल चढाइँदै आएको थियो । यसवर्ष यस्ता कुनै गतिविधि नहुने उनले स्पष्ट पारे ।

केदारेश्वरमा बोलबम मेला भर्न कास्की, स्याङ्जा, तनहूँ, पर्वत, बाग्लुङ, म्याग्दी र गोरखाका समेत हजारौं भक्तजन आउने गरेका थिए । कोरोना भाइरसका कारण काठमाडौंको पशुपतिनाथ मन्दिर पनि नखुन्ने बताइएको छ ।

सम्बन्धित खवर