शीतलादेवी माविमा भवन शिलान्यास

शीतलादेवी माविमा भवन शिलान्यास

पोखरा : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सयोगमा पोखरा महानगरपालिका १२ स्थित शतलादेवी सामुदायिक विद्यालयमा ४ कोठे नयाँ भवन बन्ने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईको ७० लाखको सहयोगमा बन्ने भवनको पूर्व स्वाथ्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले शिलान्यास गरे ।

कार्यक्रममा अधिकारीले शैक्षिक विकास समाज विकासको मेरुदण्ड रहेको बताउँदै आफू कुरा भन्दा पनि काम गरेर देखाउन चाहेको जनाए । उनले कोरोना संक्रमणको त्रासका बेला कसरी पठनपाठन सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीर ढंगले मनन् गरिरहेको भनाइ राखे ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) जिल्ला कास्कीका प्रमुख लालप्रसाद पोखरेलले पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत् कास्की जिल्लाका स्कुलमा मात्र १ सय ९० वटा भवनसँगै ६ सय २१ वटा कोठा, १ सय १४ वटा शौचालय ६५ वटा खानेपानी योजना बन्दै गरेको जानकारी गराए । प्रमुख पोखरेलले पोखरा महानगरका स्कुलका मात्र ३ सय २१ वटा कोठा बन्दै गरेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका १२ का वडाध्यक्ष रामबहादुर कार्कीले पोखरा १२ मा देशकै गहना स्कुलहरु रहेको भन्दै यो वडाकै गर्वको कुरा रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले विद्यालयको आधारभूत विकास र अत्यावश्यक सामग्रीले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रभावकारी भूमिका खेल्ने बताए ।

प्रधानाध्यापक बाबुराम अधिकारीले ७० लाखको लागतमा ४ कोठे पक्की भवन बन्न लागेकोमा खुसी प्रकट गर्दे यसमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गरे ।

शिक्षक बोधराज गौतमले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा पण्डित प्रदिप आचार्यले वैदिक परम्परा अनुसार पूजा गराइ भवन शिलन्यास गरिएको थियो ।

शीतलादेवी मावि कास्की जिल्लाको मात्र नभई गण्डकी प्रदेश तथा देशकै उत्कृष्ट सामुदायिक विद्यालय हुन सफल भइ राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । विद्यालय राष्ट्रिय शिक्षा पुरस्कार २०७३ र २०७५ बाट सम्मानित भइसकेको छ । विद्यालयमा १ हजार २० जना विद्यार्थी पढ्दै आएका छन् ।

सम्बन्धित खवर