अनलाइन नाटक, लोकनृत्य प्रतियोगिता सम्पन्न

अनलाइन नाटक, लोकनृत्य प्रतियोगिता सम्पन्न

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा पहिलो पटक देशव्यापी खुला अनलाइन नाटक प्रतियोगिताका साथै नगरमै पहिलो नगरस्तरीय अनलाइन एकल लोकनृत्य प्रतियोगिताको फाइनल प्रतिष्पर्धा सोमबार सम्पन्न भएको छ ।

नगरपालिका कार्यालयको सहयोगमा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको सन्दर्भ पारेर नगरपालिका अन्तर्गतको कला साहित्य प्रवद्र्धन समितिमार्फत शब्द थिएटरले नाटक र प्रवद्र्धन समितिको गीत संगीत एवम् नृत्य विभागबाट नृत्य प्रतियोगिता सञ्चालन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले पुरस्कार वितरण गर्दै सृजनाको क्षेत्रमा नगरले सधैं प्रोत्साहन गरिरहने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा जिल्लाका अगुवा नाट्यकर्मी भरत गुरागाईंले कला साहित्यको क्षेत्रमा प्रत्येक पालिकाहरुले योजना बनाउनु आवश्यक रहेको चर्चा गरे ।

कोरोनाको लकडाउनको समयमा कोरोना सचेतनाकासाथ घरमै बसेर सृजन क्षमता बढाउने उद्धेश्य अनुरुप एभरेष्ट बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगिताको संयुक्त कार्यक्रममा उत्कृष्ठ ५ मा पर्न सफल दुवै विधाका भिडियोहरु प्रस्तुत गर्दै निर्णायकबाट पहिलो, दोस्रो र तेस्रो चुनिएको छ । आदिकवि भानुभक्त आचार्यको कृतिमाथि बनाइएको १० मिनेटसम्मको नाटकको भिडियो प्रतियोगिताका लागि पठाउने प्रावधान बनाइएको थियो ।

२९ वटा नाटकमध्ये छानिएका उत्कृष्ठ ५ बाट मोरङकै झोराहाट नाट्य समूहको ‘बास’ नामक नाटक पहिलो बनेको छ । सुदिपजंग कार्कीको निर्देशन तथा अभिनयमा प्रदीप सरदार र अनु श्रेष्ठले साथ दिएका थिए ।

प्रतियोगितामा जुम्लाका गणेश उपाध्यायको निर्देशनमा उनको तेहेरो चरित्रको खस भाषाको नाटक दोस्रो भएको छ । क्रियटिभ एकेडेमी काठमाडौं किर्तिपुरको वितिसा महर्जनको एकल प्रस्तुतिको नाटक तृतीय भइ पुरस्कृत बन्न पुगेको छ । काठमाडौंका प्रभाकर न्यौपानेको निर्देशनको नाटक र पथरीशनिश्चरेका आकाश तिम्सिनाको निर्देशनको नाटक सान्त्वना भएको छ । प्रतियोगिताबाट छनौट पहिलो, दोस्रो र तेस्रो हुने नाटकलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद प्रदान गरिएको थिएटर निर्देशक जीवन बरालले जनाए । सान्त्वना २ नाटकलाई ३,३ हजार पुरस्कार प्रदान गरिएको छ । टाढा भएकासमूहलाई बैंकबाट पुरस्कार रकम पठाइएको छ ।

प्रतियोगितामा नगरका १९ वटा नृत्य समावेश भएका छन् । जसमध्ये जयन्ती लिम्बू, नाइमा राई र प्रतिमा दर्नाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् । जीवन विश्वकर्मा र ऐश्वर्या राई सान्त्वना तथा जस्ना ढुंगाना पब्लिक च्वाइसको पुरस्कारबाट पुरस्कृत बनिन् ।

२ मिनटको नृत्यको भिडियोलाई मुल्यांकन गरी पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद प्रदान गर्नुका साथै नृत्य प्रशिक्षण समेत प्रदान गरिने प्रवद्र्धन समितिको गीत संगीत विभाग संयोजक एवम् कार्यक्रम संयोजक देव गुरुङले जनाए । सान्त्वनालाई ३, ३ हजार तथा पब्लिक च्वाइसलाई २ हजार नगदले पुरस्कृत गरिएको छ । कला साहित्य प्रवद्र्धन समितिका उपाध्यक्ष अमीर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

सम्बन्धित खवर