लकडाउन खुकुलोसँगै संक्रमणको जोखिम वढ्यो कसरी जोगिने ?

लकडाउन खुकुलोसँगै संक्रमणको जोखिम वढ्यो कसरी जोगिने ?

कुमार खड्का, पथरी

बन्दाबन्दी लकडाउन खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ ।

सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

भिडभाडमा भौतिक दूरी र सुरक्षाका विधिसमेत अवलम्बन नगरिँदा कोरोनाको संक्रमण भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन् ।

सरकारी कार्यालय, उद्योगधन्दा, ठूला तथा साना पसल, निर्माण क्षेत्र, बैंक तथा वित्तीय संस्थालगायत खोलिएको छ । हरेक दिनजसो दूरी नै कायम नभई आन्दोलन समेत हुने गरेको छ ।

लकडाउन खुकुलो हुँदै गएपछि भौतिक दूरी कायमको कार्यान्वयनमा समस्या देखिएको छ । सरकारले पनि कडाइ गर्न सकेको छैन भने नागरिक स्तरबाट लापारवाही गर्न थालिएको छ लामो लकडाउन सकसबीच सरकारले तत्काल कर बुझाउन सूचना जारी गरे पछि लकडाउनका बारेमा अनेक आलोचना, टिकाटिप्पणी र चर्चा भयो ।

पछिल्ला दिनमा त करिब ३ महिनादेखि जारी लकडाउनको बिरोधमा सडकमै व्यवसायीहरु उत्रिए र सरकार पनि लामो लकडाउन खुकुलो बनाउन बाध्य भयो । बिभिन्न चरणमा लकडाउन खुकुलो भएसगै अब के कस्तो जोखिम आउन सक्ला ? र त्यसमा के कस्तो सचेतना र सुरक्षा अपनाउन आवश्यक देखिन्छ ?

सरकारले लकडाउन खुकुलो बनाउनु भन्दा पहिले नै सर्बसाधारणद्वारा आफै लकडाउनको अबज्ञा भइसकेको थियो । त्यसमा प्रहरी प्रशासनले अवरोध नगर्नु नै लकडाउन खुकुलो हुनु हो । यो झन जोखिमको दृष्टिकोणले समाजमा कोरोना फैलन सक्ने एक मजबुत आधारको रुपमा अगाडि आएको देखिन्छ ।

अब हामी सर्बसाधारण स्वंयमले जिम्मेवारीबोध गरि यस कोभिड—१९ को प्रकोपको समयमा सुरक्षा उपाय अपनाउन जरुरी देखिन्छ ।

त्यसको लागि सामाजिक दुरी कायम, मास्क र ग्लोब्सको नियमित प्रयोग, हात खुट्टाको सरसफाई आदि सामान्य तथा अति नै आवश्यक कार्यहरुमा पर्दछन । आजको दिन सम्म हेर्ने हो भने हामी स्वयं यस अवस्थामा सजग बनेका छैनौँ ।

चाहे जुनसुकै वर्ग, पेशा, आम्दानी स्तर, पदमा रहेका व्यक्ति नै किन नहोस, हामीबाट नै यो अवस्थाको साबधानीपूर्वक समाधानमा पहल लिने र सहयोग गर्नुपर्छ ।

आज बजारमा हेर्दा लाग्छ कि घरबाट बाहिर निस्केर हिँड्नु वा सवारी साधनमा सवार भई जानु हाम्रो लागि गर्वको विषय बनेको छ । अझ त्यसलाई सामाजिक सञ्जालमा राखी आफ्नो बहादुरीको प्रर्दशन समेत गरेको कता–कता आभाष हुन्छ ।

त्यो सबैभन्दा ठूलो मुर्खताको परिचय हो । यस्ता कार्यको निरन्तरताले यस महामारीको अवस्थामा जोखिमको मात्र निमन्त्रणा गर्दछ, निराकरणको होइन । यसको नियन्त्रणको लागि निम्न कार्यहरुलाई हामी सबैले अबलम्बन गर्न सक्यौ भने पनि केहि मात्रामा यस अवस्थाबाट हामी सुरक्षित हुन सकौँला ।

– यो परिस्थितिलाई साबधानी पूर्बक सामना गर्नका लागि हरेक व्यक्ति तथा परिवारले आफुलाई आवश्यक पर्ने दैनिक सामाग्रीको सूची तयार पारी स्थानीय सरकारले तोकेको समयमा मात्र बाहिर गई खरिद गर्नु नै उत्तम देखिन्छ ।

– घरमा बस्दा मनोबैज्ञानिक तवरले पनि स्वस्थ रहनको लागि घरमा सबै सदस्यहरुको लागि नौलो तथा शिक्षाप्रद कार्यमा संलग्न गराउनु पर्छ ।

– घर बाहिर निस्कदा सरकारले लागु गरेको कोभिड—१९ को सुरक्षा कार्यलाई अनिवार्य रुपमा पालना गर्नु पर्दछ ।

– अति आवश्यक कार्यको लागि भन्दा अन्य कार्यको लागि आफ्नो स्थानीय निकाय भन्दा बाहिरको यात्रा नगर्नु नै उचित होला । जानै परे पनि स्वास्थ्य जाच गराएर र आवश्यक कागजात प्राप्त गरेर, सुरक्षा अपनाएर मात्रै यात्रा गर्नु पर्छ ।

दिलिप कुमार राई
पथरी शनिश्चरे नगरपालिका मेयर

हाम्रो देशको खुल्ला सिमानाले अहिले सबै भन्दा धेरै समस्या निम्ताएको छ । लकडाउन खुकुलो बनाएपछि जोखिम धेरै बढ्छ । लकडाउनले गर्दा केही हद सम्म समुदाय सुरक्षित छ । नेपालमा यति धेरै कडाई गर्दा–गर्दै पनि कोरोना धेरै फैलिसकेको छ । अब फेरी लकडाउन खुकुलो गरियो भने कोरोना झन धेरै फैलिने सम्भावना देखिन्छ । तर अहिले सम्म नगरको क्वरेनटाइनमा रहेका १ भन्दा वढि नागरिकको कोरोना परिक्षण गर्दा सवैको नतिजा नेगेटिभ आएको छ ।

मानिसहरुमा चेतनाको कमी भएको महुशुस गरेको छुु मैले । नगरवासीहरु लकडाउन भन्दा भन्दै पनि बजारमा भीडभाड गरेको देखिन्छ यसले झनै समस्या उत्पन्न हुन्छ र कोरोना नियन्त्रण गर्न कठिन हुन्छ । छिमेकी पालिकाहरुमा कोरोना संक्रमितहरु भेटिएसंगै हाम्रो नगर पनि अहिले कोरोनाको उच्च जोखिममा रहेको छ ।

यहाँका मानिसहरु धेरै बैदेशिक रोजगारका लागि जानुभएको छ र अहिले धेरै मानिसहरु फर्किनु पनि भएको छ । हामीहरुले ति मानिसहरुलाई व्यवस्थापन गर्ने कुरामा स्थनिय स्तरको क्वारेनटाइन निर्माण गरेका छौँ । हाल हाम्रोमा ३० जना भन्दा बढि क्वारेनटाइनमा बस्नु भएको छ । लकडाउन खुकुलो भयो भने मानिसहरु थाहा नहुने गरेर गाउँ–गाउँ जाने र कोरोना फैलिन सक्ने हुन्छ । बाहिरबाट नगरमा आउने मानिसहरुले पनि के कुरा बुझ्न जरुरी छ भने आफुले गर्दा अरुमा समस्या आउन सक्दछ भन्ने कुरा थाहा हुदाँहुदै बाहिरबाट आएर जथाभावी रुपमा डुल्न हुँदैन । जो व्यक्ति बाहिरबाट आएको हुन्छ, स्वयम ऊ घरमै क्वारेनटाइन निर्माण गरि बस्न सकिन्छ ।

कोरोना रोकथामको लागि मानिसहरुले सबै भन्दा त सामाजिक दुरी कायम गर्नुपर्ने देखिन्छ । हामीसँग सिमित मात्रामा स्रोत साधन छन् । हामीहरुले पीसीआर परीक्षणको दायरा बढाउन पनि सकेका छैनौँ । त्यसकारणले यस विषयमा सरकारको विशेष ध्यान जानु पर्दछ ।

हामीहरुले आ–आफ्नो ठाउँबाट कोरोना रोकथामका लागि आफु पनि सुरक्षित र अरुलाई पनि सुरक्षित बनाउने बातावरण निमार्ण गर्नुपर्दछ । बजारमा अनावश्यक कुरामा भीडभाड गर्ने काम गर्नु भएन । सामाजिक दुरी कायम गर्नु पर्दछ । सरसफाइमा ध्यान दिनु पर्दछ । स्वस्थ खानेकुरा खाने, तातो पानी पिउने गर्नु पर्दछ । माक्सको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्नु पर्दछ ।

दिनेश पौडेल
पथरी उद्योग वाणिज्यसंघ उद्योग सचिव

लकडाउन खुकुलो बनाउनु पर्ने बाध्यता सरकारलाई भइसकेको छ । लामो समय भयो लकडाउ गरेको । मानिसहरु आत्तिएका छन् । लकडाउन जति थपिन्छ, मानिसहरुलाई त्यति नै समस्या र तनाव थपिने अवस्था बनेको छ ।

आफ्नै देशमा केहि गर्छु भनेर ऋण धन गरेर व्यापार व्यवसाय शुरु गरेका मानिसहरुलाई समस्या आएको छ । दैनिक काम गरेर गुजारा गर्ने मानिसहरुलाई समस्या भएको छ । सरकारले सहयोग राहात पनि दिएको छ तर सरकारले पनि जति सक्दछ त्यति त हो गर्ने । कोठा भाडामा लिएर व्यापार गर्ने मानिसहरुले महिनै पिच्छे कोठा भाडा तिर्नु परेको छ ।

आम्दानी छैन, बैंकको व्याज तिर्नु परेको छ । त्यसकारणले अब लकडाउन खुकुलो बनाएर मानिसहरुले सामाजिक दुरी कायम गरेर काम गर्न सुरु गर्नु पर्दछ । सधैभरी लकडाउन समस्याको समाधान होइन । अव नागरिकहरुले पनि बुझ्नु पर्ने कुरा छ की कोरोनाबाट बच्नका लागि आफै ध्यान दिनु पर्दछ भनेर ।

लकडाउनले एउटा राम्रा कुरा पनि गरेको छ । धेरै नागरिक शहर बजार बस्दथे तर कोरोनाका कारण गाउँ घरमा मानिसहरु फर्किएका छन् । गाउँ घरका खेतीयोग्य जमिन बाझै हुन्थे तर अहिले खेतबारी हरियाली भएका छन् । गाउँमा कोही कसैको मृत्यु भयो भने घाट सम्म लास पु¥याउने मानिस नभएको दिन थियो तर अहिले गाउँ भरी भराउ भएको छ । लकडाउन खुकुलो हुदाँ साथ सवै मानिसहरुले ध्यान दिनु पर्दछ । बाहिरबाट आएका मानिसहरुलाई व्यवस्थित गर्नु पर्दछ । उनीहरुलाई जथाभावि हिड्डुल गर्न दिनु हुदैन ।

सवै मानिसहरुले बुझनु पर्दछ कि हामीहरुले अरुका लागि भन्दा पनि आफ्ना लागि अहिले सुरक्षित हुनुपर्ने हो भनेर । हामीहरु जहाँ छौँ, त्यँही बस्नु पर्दछ । हामीहरुले यो अवस्थामा सरकारलाई कसरी सहयोग गर्न सकिन्छ, सके सम्म त्यसरी नै सहयोग गर्नु पर्दछ । हामीहरु जथभावी बाहिर निस्कियौँ भने सवैलाई समस्या हुन्छ ।

सम्बन्धित खवर