मनकामना साकोस एकीकरण हुनेकुराले पथरीमा तरङ्ग

मनकामना साकोस एकीकरण हुनेकुराले पथरीमा तरङ्ग

पथरी, मोरङको पथरी शनिश्चरे १ मा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था एकीकरण (मर्ज) हुने कुराले पथरीमा तरङ्ग ल्याएको छ । इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लि. मा एकीकरण हुनेकुरा बजारमा आएपछि अब के हुन्छ भन्ने तरङ्ग छाएको हो ।

आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर एकीकरण हुन लागेकाले शेयर सदस्यहरु पनि अन्योलमा परेका छन् । नगरकै उत्कृष्ट संस्था किन एकीकरण हुन इटहरी सम्म पुग्न खोज्दैछ भन्ने आशंका पनि थपिएको सेयर सदस्य सुमन श्रेष्ठ बताउछन् । आधिकारिक रुपमा एकीकरण हुनेकुरा हुदैछ भन्ने सुनेको हुँदा आगामी दिनमा यसले दिने फाइदा के हुन्छ भन्ने कुराले आफुलाई अन्यौलमा पारेको श्रेष्ठले बताए ।

एकीकरण हुने विषयमा सञ्चालक समितिमा पनि पूर्ण सहमती नरहेको सदस्य प्रदिप पराजुलीले बताए । पराजुलीका अनुसार पटक पटक बैठकहरु भएका छन् तर एकीकरणका सबै प्रकृया पुगीसकेको छैन् । ११ सदसीय समितिमा ४, ५ जनाले मात्रै एकीकरणका लागि सहमती जनाएको पराजुलीको भनाइ छ । एकीकरणका लागि चाहिने मुख्य कुरा साधारणसभा हो । सभाले पास गरेर मात्रै एकीकरणका लागि जान सकिन्छ तर त्यसो नभएको पराजुलीको भनाइ छ ।

यता सिंगो कर्मचारी टिम पनि एकीकरणको पक्षमा नरहेको पराजुलीले बताएका छन् । पटक पटकमा अनौपचारिक कुराकानीमा कर्मचारीका तर्फबाट पनि एकीकरणका लागि कुनैपनि सकारात्मक कुरा नआएको पराजुलीले बताए । थप एकीकरण प्रकृयाका लागि बैठकहरु बस्ने कुराहरु भइरहेको पराजुलीले बताएका छन् ।

सम्बन्धित खवर