राष्ट्रिय फुटबल टिमका फरवार्ड जर्जप्रिन्स कार्की नेपाली सेनाको क्याप्टेनमा बढुवा

राष्ट्रिय फुटबल टिमका फरवार्ड जर्जप्रिन्स कार्की नेपाली सेनाको क्याप्टेनमा बढुवा

राष्ट्रिय फुटबल टिमका फरवार्ड जर्जप्रिन्स कार्की नेपाली सेनाको क्याप्टेनमा बढुवा

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड जर्जप्रिन्स कार्की नेपाली सेनाको क्याप्टेनमा बढुवा भएका छन्। कार्की सोमबार राजदल गण सुर्खेतबाट दर्ज्यानी चिन्ह प्राप्त गरेका हुन्।

कार्की २०७२ सालमा सेकेन्ड लेफ्टिनेन्सबाट सेनामा प्रवेश गरेका थिए। सेनामा प्रवेश गरेसँगै उनी त्रिभुवन आर्मीको फुटबल टिमबाट खेल्न थालेका थिए। जसले राष्ट्रिय टिमको ढोका खोलिदियो।

२०७४ भदौमा उनले ताजकिस्तानको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए। एएफसी एसिया कप छनोटअन्तर्गत ‘समूह एफ’ को खेलमा कार्कीले ६३ मिनेटमा विशाल राईको स्थानमा मैदान छिरेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए। खेलमा नेपाल २(१ ले पराजित भएको थियो।

काभ्रे जिल्ला धुलिखेल नगरपालिका–१२ शंखुका स्थानीयवासी कार्कीले स्कुल पढ्दासम्म फुटबलका ठूला मैदान देख्न पाएका थिएनन्। घर वरपरका साना चौरमा अन्य बालकझैं मनोरञ्जनका लागि फुटबल खेल्थे।

०६४ सालमा १५ वर्षको उमेरमा एसएलसी पास गरेपछि काठमाडौं आएका कार्कीले पहिलोपटक ठूलो मैदान देखेका थिए। लिटिल एञ्जल्स कलेजको मैदानमा प्रतिस्पर्धामा उत्रने कार्कीको चाहना भने पूरा हुन सकेन।

उनी त्यतिबेला कलेजको टोलीमा पर्न नसक्नुको एकमात्र कारण थियो, उनको उचाइ। शारीरिक कारणले टोलीमा पर्न नसकेपछि उनी बास्केटबल र पौडी खेल्न थाले। त्यसपछि कार्कीले आफू पढेको स्कुल ‘डिभाइन लाइट’का विद्यार्थीलाई फुटबल सिकाउन थाले।

स्कुलका विद्यार्थीलाई बनेपामा मैत्रीपूर्ण खेल खेलाउन आउँदा कार्कीले स्थानीय क्लब बनेपा ब्वाइज क्लबलाई प्रभावित पारे। कार्कीलाई पहिलोपटक टोलीबाट खेल्ने प्रस्ताव आयो। कार्कीले बनेपाबाट २०६८ सालमा ‘सी’ डिभिजनको छनोट खेल्दै पहिलोपटक व्यावसायिक फुटबलमा पाइला टेके। बनेपा ‘सी’ डिभिजनमा छनोट हुन त सकेन, तर कार्कीले २ खेलमा ३ गोल गर्दै सबैलाई प्रभावित पारे। लगत्तै काभ्रे जिल्ला लिगमा बनेपाबाट खेलेका कार्कीले उत्कृष्ट खेलाडीको अवार्ड जिते।

जिल्लामा उत्कृष्ट प्रदर्शन गरेपछि कार्कीलाई कलेजको टोलीमा पर्न गाह्रो भएन। जेभियर कलेजबाट उनले कलेज स्तरीय प्रतियोगिता खेले। उत्कृष्ट खेलाडीको अवार्ड पनि पाए। कलेजबाट खेल्दा प्रशिक्षक अनिल नेपालीले कार्कीलाई राष्ट्रिय खेलाडी बन्न अनेकौं टिप्स दिए।

२०७० सालमा उनी ‘ए’ डिभिजन क्लबमा ट्रायल दिन धाउन थाले। आर्मीमा ट्रायलका लागि गएका कार्की अन्तिम समयमा फालिए।नको फुटबल प्रतिको लगाव देखेर आर्मीले नै उनलाई फ्रेन्ड्स क्लबका लागि ‘रिफर’ गरेको थियो। उनले त्यतिबेला लिग सुरु भइसकेको अवस्थामा फ्रेन्ड्सबाट अन्तिम दुई खेल मात्र खेल्न पाए।

पढाइमा अब्बल कार्की शरीरिक रुपमा पनि फिट भएपछि २०७२ सालमा सिधै सेनामा छनोट भए। अझ, उनले उत्कृष्ट भएबापत भारतमा सेनाको तालिम लिने अवसर पाए। भारतमा सेनाको प्रशिक्षण लिने क्रममा कार्कीले फुटबलमा थप कला सिक्ने मौका पाए। भारतबाटै पासआउट भएर नेपाल फर्के। लगत्तै उनलाई त्रिभुवन आर्मी क्लबको फुटबल टोलीमा प्रशिक्षणका लागि बोलाइयो।

सर्लाहीमा भएको राजश्री कपमा कार्कीले आर्मी टोलीबाट ‘डेब्यु’ गरे। खेल सकिन २० मिनेट बाँकी छँदा मैदान छिरेका कार्कीले ‘डेब्यु’ मै सरस्वती युवा क्लबविरुद्ध २ गोल गरे। प्रतियोगितामा ३ गोल गरेका कार्की प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि बने। लगत्तै उनी वीरगञ्जमा आयोजना भएको विशाल मेमोरियल कप आर्मीले जित्दा ३ खेलमा ४ गोल गर्दै उत्कृष्ट फरवार्ड भए। उनले फाइनलमा संकटाविरुद्ध २ गोल गरेका थिए।

यसपछि उनलाई राष्ट्रिय टोलीका लागि ढोका खुल्यो। ताजकिस्तानसँगको खेलमा डेब्यू गरेका उनले राष्ट्रिय टिममा भने आफ्नो प्रभाव छाड्न अझै बाँकी छ। त्रिभुवन आर्मी क्लबका नियमित सदस्य कार्कीले क्लब फुटबलमा भने प्रभाव छाडिसकेका छन्।

सम्बन्धित खवर