विष्णुकाे प्रतिक तुलसीकाे पुजा गरी हरिशयनी एकादशी मनाइँदै

विष्णुकाे प्रतिक तुलसीकाे पुजा गरी हरिशयनी एकादशी मनाइँदै

काठमाडाैं : आज हरिशयनी एकादशी व्रत, पवित्र जलाशय तथा नदीकिनारमा स्नान गरी औषधीय वनस्पति तुलसीको पूजाआजा गरि मनाइँदै छ । हरिशयनी एकादशी पर्व आज पवित्र जलाशय तथा नदीकिनारमा स्नान गरी भगवान विष्णु र उहाँको प्रतीक तुलसीको पूजाआजा गरिइँदै छ । यस अवसरमा आज मुलुकका विभिन्न तीर्थ तथा नारायणमन्दिरमा व्रतालु भक्तजनको उपस्थिति रहेकोे छ ।

हरिशयनी एकादशीदेखि भगवान नारायण चार महिनासम्म क्षीरसागरमा शेषशैयामाथि शयन गर्नुहुने भएकाले यस एकादशीको नाम हरिशयनी एकादशी रहन गएको उल्लेख छ । यस एकादशीलाई महाएकादशी, प्रथमा एकादशी, पद्मएकादशी पनि भनिन्छ । हरिशयनीएकादशीदेखि चतुर्मास व्रत प्रारम्भ गरिन्छ ।

भगवान विष्णुले लोककल्याणका लागि मुर नामको दैत्यसँग लामो समयसम्म लडाइँ गर्नुभएको र त्यसको थकाइ मार्न आषाढ शुक्ल एकादशीका दिन उहाँ हिमालय पर्वतको हेमवती गुफामा गई शयन गर्नुभएको हुँदा यस एकादशीको नाम हरिशयनी एकादशी रहेको पनि पौराणिक कथन छ ।

हरिशयनी एकादशीदेखि भगवान नारायणको महात्म्यमा आधारित चतुर्मासको अनुष्ठान थालिन्छ । यस अवधिमा लक्ष्मीसहित भगवान विष्णुको पूजाआराधना गरी चार महिनापछि हरिबोधनी एकादशीका दिन अनुष्ठान सम्पन्न गरिन्छ । लोकमा ठूलो एकादशीका नामले प्रसिद्ध हरिशयनी एकादशीका दिन घरघरमा बनाइएको तुलसीमठमा तुलसीको बिरुवा रोपिन्छ । भगवान विष्णुको प्रतीकका रुपमा पुजिने वृन्दा लाभकादृष्टिले अतुलनीय वनस्पतिका रुपमा चिनिने तुलसीलाई धार्मिक, साँस्कृतिक,वातावरणीय महत्वले भरिएको मानिन्छ । यस दिन तुलसी राेप्नुका साथै दोबाटो बिसाउनी भञ्ज्याङलगायत चौतारी चिनेको ठाउँमा आज विधिवत् रुपमा वर, पीपल र शमीका बिरुवा सार्ने चलन छ ।

हरिशयनी एकादशीको अवसरमा भगवान नारायणको दर्शनपूजन गर्न काठमाडौको उत्तरमा पर्ने बूढानीलकण्ठ नारायण, फर्पिङका शेषनारायण, स्वयम्भू हलचोकका इचंगुनारायण, भक्तपुरका चाँगुनारायण, ललितपुरका विशंखुनारायण लगायतका विष्णु मन्दिरमा आज भक्तजनहरुको उपस्थिति रहेको छ । यसै गरी कन्काईधाम, कोशीकिनारको वराहक्षेत्र, देवघाट गलेश्वरधाम लगायतका तीर्थहरुमा भक्तहरुले एकादशी स्नान गरिरहेका छन् ।

सम्बन्धित खवर