भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

पाेखरा : भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १८ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३ सय ८४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार ६ सय ८५ पुगेको छ ।

भारतमा लकडाउन खुकुलो गरिएसँगै संक्रमण पनि बढिरहेको छ । जनस्वास्थ्यविद्हरुले अनुसार जुलाई अन्तिमसम्ममा भारतमा संक्रमितको संख्या १० लाख पुग्ने अनुमान गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित भएको छ । शनिबार बिहानसम्म महाराष्ट्रमा एक लाख ५२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै महाराष्ट्रमा ७ हजार एक सय ६ जनाको मृत्यु भएको छ भने करिब ८० हजार निको भएका छन् ।

महाराष्ट्रपछि राजधानी दिल्ली सबैभन्दा बढी प्रभावित भएको छ । दिल्लीमा संक्रमितको संख्या ७७ हजार २ सय ४० पुगेको छ भने २ हजार ४ सय ९२ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये दिल्लीमा अहिलेसम्म ४७ हजार ९१ जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा शनिबार बिहानसम्म २४ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख २५ हजार ३९ जनाको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब ६ लाख ७० हजार रहेको छ ।

त्यस्तै ब्राजिलमा करिब १२ लाख ७५ हजार संक्रमित भएका छन् भने करिब ५६ हजारको मृत्यु भएको छ । ब्राजिलमा ७ लाखभन्दा बढी निको भएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ६ लाख २० हजार पुगेको छ । रुसमा कोरोना संक्रमणबाट ८ हजार ७ सय ७० जनाको मृत्यु भएको छ । रुसका ३ लाख ८३ हजारभन्दा बढी निको भएका छन् ।

शनिबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९८ लाख नाघेको छ । विश्वका विभिन्न देशमा गरी शनिबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९४ हजारभन्दा बढी रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ४९ लाखभन्दा बढी निको भएका छन् ।

सम्बन्धित खवर