तनहुँकाे बन्दीपुरमा चितुवा पर्‍याे खाेरमा

तनहुँकाे बन्दीपुरमा चितुवा पर्‍याे खाेरमा

दमाैली : तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराटारमा आइतबार बिहान एउटा चितुवा खोरमा परेको छ । चितुवाको आतंक बढेपछि राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

वन कार्यालयको सहयोगमा स्थानीयवासीले १५ दिन अगाडि खोर राखेका थिए । बाख्रासहितको खोरमा परेर नियन्त्रणमा आएको चितुवालाई उद्धार गरेर डिभिजन वन कार्यालय तनहुँले ल्याएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए ।

“खोरमा परेको चितुवा दमौली ल्याएका छाैं, यसलाई कहाँ लैजाने भन्नेबारेमा छलफल हुँदैछ”, बरालले भने । शेराटारका स्थानीयवासी रामप्रसाद भट्टराईले खोर राखेको १५ दिनमा चितुवा नियन्त्रणमा आएको जानकारी दिए । उनका अनुसार दिनदिनै उक्त खोरमा बाख्रा राख्ने गरिएको थियो । “चितुवा आतङ्क बढेपछि वन कार्यालयको सहयोगमा खोर राखेका थियौँ”, उनले भने ।

तनहुँका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने क्रम बढेपछि डिभिजन वन कार्यालय तनहुँले काठको खोर थापेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यसअघि भानु नगरपालिकामा पाँच, व्यास नगरपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक गरी सात चितुवा नियन्त्रणमा आइसकेको छ ।

वैशाख ३ गते मात्रै बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा मृतावस्थामा चितुवा फेला परेको थियो । तनहुँको भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बताइएको छ ।

सम्बन्धित खवर