उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु

उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु

उदयपुर जिल्ला आफैमा प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपुर्ण भएको ठाँउ हो । भित्री मधेस अन्तर्गत पर्ने जिल्लामा उच्च गर्मी हुने तराईको महाभारत पर्वत शृङ्खलादेखि बाह्रै महिना चिसो हुने अग्ला–अग्ला टाकुरा रहेका विविध ठाउँहरु छन् ।

जिल्लाका केहि महत्वपूर्ण पर्यटकीय स्थलहरूः

जिल्लाका ८ वटै स्थानीय तहहरुमा पर्यटकलाई आकर्षित गर्ने फरक–फरक किसिमका गन्तब्यहरु रहेका छन । जिल्लाका सबै स्थानीय सरकारहरु भ्रमण  वर्ष २०२० सफल पार्न आफ्नो ठाउँमा पर्यटकहरु बढि भन्दा बढि ल्याउँन लागि परेका छन ।

उदयपुरगढी दरवार

नेपाल सरकारले घुम्न लायक १०० औं पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको उदयपुरगढी दरवार तत्कालीन उदयसेन राजाले राज गरेको यो गढीमा अहिले पनि पुरातात्विक महत्व बोकेका पुराना सम्पदा रहेका छन् । जसको नामबाटै उदयपुर जिल्ला तथा उदयपुरगढी गाउँपालिका नाम राखिएको हो । यो ठाउँ उदयपुर जिल्लाको पुरानो सदरमुकाम पनि हो । जहाँबाट भौगोलिक विकटताका कारण वि.स. २०२८ सालमा यो ठाउँबाट सदरमुकाम गाईघाटमा सारिएको हो ।

रौतापोखरी

रौतामाई गाउँपालिकामा पर्ने धार्मिक आस्थाको केन्द्र बोकेको रौतापोखरीको दर्शनका लागि उदयपुर, सिरहा, सप्तरी, सुनसरी, विराटनगर, जनकपुर, सिन्धुली लगायत छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आउने गरेको स्थानीय प्रलाद कटुवालले ले जानकारी दिए । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने रौतापोखरी बाट ढकमक्क फूलहरु फूलेकोे र चारैतिर हरियाली वनजंगल देख्न सकिने भएकाले घुम्न आउँने पर्यटकहरुको मन लोभ्याउँछ । खानाका लागि पर्यटकहरुलाई ‘स्थानीय उत्पादन कोदो, मकै, फापरको ढिँडो, धान, सिस्नु, साग, लोकल कुखुरा, दाल, गुन्द्रुकको अचारजस्ता परिकार पाइन्छ ।’

बेतेनी भञ्ज्याङ

कटारी नगरपालिकामा पर्ने बेतेनी भञ्ज्याङ् पनि पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा पर्दै आएको छ। एकैछिनमा घाम लाग्ने र केही क्षणमा हुँस्सु लाग्ने र अग्लो डाडाँ अनि चारैतिर हरियाली छिनछिनमा हुने मौसम परिवर्तन बेतेनी भञ्ज्याङ्को मुख्य बिशेषताको रूपमा रहेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

लिम्चुङबुङ एभरेस्ट भ्युटप

लिम्चुङबुङ गाउँपालिकामा रहेको एभरेस्ट भ्युटपबाट  विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अग्ला ८ वटा  हिमालहरुको दृश्यावलोकन आँखै अगाडिबाट गर्न सकिन्छ ।  साथै उक्त ठाउँबाट हिमाल, पहाड र तराईका विभिन्न ठाउँहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ । यसका साथै लिम्चुङबुङमा मनमोहक झरना र सांस्कृतिक विविधता समेत रहेको  गाउँपालिकाका उपाध्यक्ष रमिला राईले जानकारी दिईन ।

चाैदण्डीगढी दरवार

चाैदण्डीगढी उदयपुर जिल्लाको मात्र नभई नेपालकै प्रमुख ऐतिहासिक तथा पुरातात्विक स्थल मानिन्छ । उत्तरमा दुधकोसी नदी र दक्षिणमा चुरे पहाड रहेको छ । गढी तत्कालीन सेन बंशीय राज्यको राजधानी समेत हो ।

विक्रम संवत १७९० देखि जगत सेन, बिक्रम सेन, हरि सेन लगायतका चार पुस्ताले चौदण्डीगढी दरवारमा राज्य चलाएको नेपालको इतिहासमा उल्लेख छ । सदरमुकाम गाईघाटबाट २७ किलोमिटर पूर्वि पहाडी क्षेत्रमा पर्ने चौदण्डीगढीमा पुरातात्विक महत्व बोकेका देवी देवताका मुर्ती, ढुङ्गाका सामाग्रीहरु रहेका छन ।

समग्र नगरपालिकको नामाकरणसँग जोडिएको यो स्थान नेपालकै एक महत्वपूर्ण ऐतिहासिक र पर्यटकीय स्थल बन्ने प्रचुर सम्भावना रहेको स्थान हो । भ्रमण बर्ष २०२० को अवसर पारेर यहाँ आउने पर्यटकलाई कुनै असुविधा नहोस् भनेर नगरपालिकाले आवश्यक पूर्वाधार तयार गरी पर्यटकलाई निम्ता गरेको नगरप्रमुख खगेन्द्र राईले जानकारी दिए ।

बेलकामा झनै थुप्रै घुम्नु पर्ने गन्तव्यहरु रहेका छन्ः

यस्तै बेलका नगरपालिकामा पर्यटकले सुन्दर पर्यटकीय स्थलको अवलोकनसँगै प्याराग्लाइडिङ, सप्तकोशीमा क्याम्पफायर, याफ्टिङको मजा लिन सक्न नगर प्रमुख दुर्गा थापाले बताए।

नगरको अन्य पर्यटकिय क्षेत्रहरुमा कोलोहाङ र वासिराङ झर्ना, वासिराङ दह, भूतिया तह, बालबाटिका बगैंचा, टंकेला गुफा, बेलका हाइट, महांकाल मन्दिर, कोशी टप्पु, सप्तकोशी नदी, ऐतिहासिक मैनाराजा मैनारानी यस्तै बेलकाराजा बेलकारानी, सुनखानी सुगाचरि भिर, सितारानी भिर, भौडा देवि मन्दिर आदि नगरपालिकाको पर्यटकीय स्थल रहेको बेलका नगरपालिकाका, पर्यटन विकास समितिका अध्यक्ष रमन भट्टराइले जानकारी दिए ।

यसका साथै जिल्लामा ऐतिहासिक महत्व बोकेका ताप्लीपोखरी, उदयपुरकै सबैभन्दा अग्लो चित्रेथानडाडाँ, अँधेरी झरना, लगातका पर्यटकीय स्थलहरु रहेका छन्। सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० सफल पार्न उदयपुरको पर्यटकिय गन्तव्यले पनि महत्वपुर्ण भुमिका खेल्ने सरोकारवालाहरु बताउँछन्।

सम्बन्धित खवर