भन्सार बुझाउन सर्वसाधरणलाई सास्ती

भन्सार बुझाउन सर्वसाधरणलाई सास्ती

माघ २७, संखुवासभा – दुई दशकदेखि किमाथांका सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमै रहँदा सेवाग्राहीले सास्ती पाउने गरेका छन् ।
पाँच दिन हिँडेर राजश्व वुझाउनपर्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । भन्सार कार्यालय सदरमुकाम बसेपछि सेवा झन्झटिलो भएको सेवाग्राहीको भनाइ छ ।

किमाथांका नाकाबाट पशु चौपाया, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, विद्युतीय, जुडिबुटीलगायत सामान आउँछ ।
यो नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको सीमा भन्सार कार्यालयले जनाएको छ । भोटखोला गाउँपालिकाको किमाथांका विकट र दुर्गम स्थान भएकाले सदरमुकाम खाँदबारीभन्दा चीनसँग भर पर्नुपर्छ ।

तिब्बतबाट ल्याएको चौरी पुच्छर सीमामा राखेर भन्सार तिर्न हप्ता दिन लगाएर खाँदबारी आउनु परेको भोटखोला गाउँपालिका–२ का सोप्पा भोटले बताए ।
उनले भन्सार कार्यालय सदरमुकाममा भएकाले रु तीन हजार २५४ आयात भन्सार शुल्क तिर्न आउँदा रु १५ हजार खर्च भएको बताउनुभयो ।

उनले निम्न आयका व्यापारीलाई सामान्य व्यापार गर्न पनि धेरै दुःख पाउनु परेको बताउनुभयो । तिब्बतबाट ल्याइएको चौरी पुच्छर तराईका सुनसरी, मोरङ र झापाका बजारमा लगेर बिक्री गर्ने गरेको बताए ।

भन्सार कार्यालयले आवतजावत गर्न एक हप्ताको प्रज्ञापनपत्र दिने गरेको छ । त्यस पत्रमा उल्लेख भएको विवरण जिल्ला प्रहरीले किमाथांका सीमा प्रहरी कार्यालयलाई जानकारी गराएपछि सीमा प्रहरीले सामग्री आयात तथा निर्यात गर्न दिने गरेको छ ।
राजश्व जिल्लामा बुझाए पनि प्रज्ञापनपत्र सीमामा नै दिने व्यवस्था मिलाएर आयात तथा निर्यात हुने सामग्रीको अनुगमन गरिनुपर्ने स्थानीयको माग छ ।

गाउँपालिकाका किमाथांका, चेपुवा, हटिया, च्याताङ, चेपुवा, रिदाक, थुदामलगायतका कैयौ घर परिवारले किमाथांका नाकाको भर पर्नुपर्ने बाध्यता छ । यो नाका अहिले कोराना भाइरसका कारण गत माघ ५ गतेदेखि बन्द छ ।

सम्बन्धित खवर