गच्छदारले मुख खोले – म निर्दाेश छु

गच्छदारले मुख खोले  – म निर्दाेश छु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा आफू निर्दोष रहेका प्रतिक्रिया दिएका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्रतिक्रिया दिँदै उनले आफू निर्दोष रहेको दावी गरे ।

शुक्रबार बिहान १० बजे सिंहदरबारमा बसेको काँग्रेस संसदीय दलको बैठकपछि उनले भने, ‘मैले कुनै कानुन बदलेर निर्णय गरेको होइन । मन्त्रिपरिषद् बैठकबाट त्यो बेला निर्णय भएको हो । जुन निर्णय संविधान र कानुन सम्मत भएको थियो । यसमा म दोषी हुनुपर्ने कारण छैन ।’

काँग्रेस संसदीय दलको उपनेता समेत रहका गच्छदारले पार्टीले आफ्नो पक्षमा लिएको अडान नै आफ्नो अडान रहेको बताए । उनले भने, ‘तपाईँले देखिराख्नु भएको छ । पार्टीले राजनीतिक रुपमा एकखालको अडान लिएको छ । कानुनी प्रक्रियाबारे पनि कानुन विज्ञसँगै पार्टीले सुझाव लिइरहेको छ । पार्टीको नीति अनुसार म अघि बढिरहेको छु ।’

उनी यस विषयमा थप बोल्न चाहेनन् । उनले भने, ‘म यसबारेमा अहिले बोल्ने पक्षमा छैन । २७ गतेपछि थप के बोल्नुपरेमा बोलाँैला ।’ माघ २७ गते काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । गच्छदारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि काँग्रेस सामाजिक सञ्जाल, सदन र सडकमा उत्रिएको छ ।

सम्बन्धित खवर